Powered By: i-Tech Nepal
यात्रुवाहक बस पल्टिँदा मोरङको उर्लाबारीमा १६ जना यात्रु घाइते

माघ २१ दमक- यात्रुवाहक बस पल्टिँदा मोरङको उर्लाबारीमा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । काँकडभिट्टाबाट धरान जाँदै गरेको ग १ ख ३९४५ नम्बरको बस उर्लाबारी–६ किसान चौकमा पल्टिएको हो । दुर्घटनामा परेकामध्ये उर्लाबारी–७ की १९ वर्षीया संगीता बुढाथोकी, झापा दमक–१६ की ३६ वर्षीया सावित्रा शर्मा र खोटाङ दिक्तेल–४ का ५६ वर्षीय पूर्णबहादुर विश्वकर्माको अवस्था गम्भीर छ । उनीहरु तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । घाइते अन्यको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनु भयो । दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।