Powered By: i-Tech Nepal
मोरङको राजघाटमा चितुवाको आक्रमणबाट चारजना घाइते

मोरङको राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल हुनुहुन्छ ।  राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनु भयो ।  बिहान ८ बजे हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासि आक्रमण गरेको घाइते टङ्कलालले बताउनु भयो । टङ्कलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् । विशेषज्ञसहितको वनरक्षक टोलीलाई बिहानै खबर गरीए पनि अहिले सम्म आई नपुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।