सप्तरङ्गी एफ.एम.दमक/ १९ असार २०७५
झापाको गौरिगञ्जमा भारतबाट प्रवेश गर्ने पशु, पंक्षी, पशु जन्य उत्पादन तथा सामाग्रीहरु जाँच गर्न राखिएको पशु क्वारेन्टाइन कार्यालय खजुरगाछीले जाँच मेशिनको अभावमा सही तरिकाले चेक नगरी छाड्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाल सरकार कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय पशु सेवा विभाग पशु निर्देशनालय माताहत संचालित क्वारेन्टाइन कार्यालय खजुरगाछीमा ३ जना कर्मचारी रहँदै आएको भनिए पनि कार्यालय सहयोगीको भरमा काम हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
क्वारेन्टाइन कार्यालयमा जाँचचेक गर्ने तरिका कम्जोर भएकोले भारतमा विक्री नभएका गुणस्तरहीन माछा लगायतका बस्तुहरु नेपाल भित्रने गरेको स्थानीय बद्रि यादवले बताउनु भयो । मेशिन नभएकोले माछा, मासु हेरेर, सुँघेर पठाउने गरेको कार्यालयका कर्मचारी शुभनारायण यादवले जानकारी दिनु भयो ।
कार्यालयले खासगरी हटियाको दिन शनिबार र बुधबार सातामा दुई पटक मात्र चेकजाँच गर्ने र बाँकी दिन खासै सामाग्री नआउने भन्दै चेक जाँच नगर्ने कार्यालयकी सहायक ललिता प्रसाईंले बताउनु भयो ।
स्थानीय बासिन्दाका अनुसार हटिया बाहेक अन्य दिन पनि सामानहरु आउने गरेको छन् । पछिल्लो समय नयाँ नयाँ भाइरस र फ्लूले पटक पटक संक्रमण गर्दै आएका नेपालमा क्वारेन्टाइन कार्यालय गर्ने गरेको लापार्वाहीले थप रोग भित्रन सक्ने खतरा रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।