Home / विचार-लेख / मेरो विश्वासमा अन्तिमसम्म अडिग रहने छु [ प्रतीक प्रधान @baahrakhari.com ]

मेरो विश्वासमा अन्तिमसम्म अडिग रहने छु [ प्रतीक प्रधान @baahrakhari.com ]

९ श्रावण २०७५, बुधवार

चौध जना सम्पादक डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन पुगेको विषयमा अहिले निकै ठूलो बहस चलेको छ । सामाजिक संजालमा कतिपय व्यक्तिले विषय बुझेर, शालीन भाषामा र कतिपयले गलत भाषामा, गलत आशयमा र विषय वा पृष्ठभूमि पनि नबुझी जथाभावी विरोध गरेका छन् । धेरैले सम्पादकहरूले लिएको कदमको समर्थन पनि गरेका छन् । लोकतान्त्रिक समाजमा स्वस्थ बहसको स्थान रहनु पर्छ र पत्रकारिता तथा पत्रकारको नैतिकतामा उठेका विषयमा छलफल हुनै पर्छ । पत्रकारले सामाजिक विषयमा सक्रियतापूर्वक भूमिका खेल्नु हुन्छ वा हुँदैन भन्ने विषयमा यस्ता टिप्पणीले एकपल्ट सोच्न बाध्य बनाएको छ । यो बहसले पत्रकारिताको विषयमा जनताको सोच र मान्यतालाई केही हदसम्म सकारात्मक परिवर्तन गर्नलाई पनि सहयोग गर्ने देखिन्छ ।

सुरुमा पत्रकारिताको सम्बन्धमा उठेका केही विषयको सम्बोधन गरौँ । धेरैले पत्रकारितालाई केबल एक टेलिभिजन क्यामेरा वा टेप रेकर्डरका रूपमा बुझेजस्तो देखिन्छ । पत्रकारले कुनै सोच राख्नु हुँदैन, कुनै विषयमा टिप्पणी गर्नु हुँदैन र पत्रकारले जे देखेको छ त्यसलाई जस्ताको तस्तै राख्नुपर्छ भन्ने धेरैलाई लागेको देखिन्छ । वास्तवमा यो सोच नै गलत होइन बुझाइको फरक हो । सिनेमामा देखाएको विषय वस्तु त सबैले एकै ढंगले देख्दैनन्, किताबमा लेखेका कुरा त सबैले उस्तै रूपमा बुझ्दैनन् भने समाजमा भएका घटनाको बुझाइ व्यक्तिअनुसार फरक हुने निर्विवाद छ । यसो हुनुमा व्यक्तिको सोच, सामाजिक पृष्ठभूमि, अध्ययन, अनुभव आदि सबै कारण हुनसक्छन् । कुनै पनि घटनामा पत्रकारले केही कुरा संप्रेषण गर्नेबित्तिकै विषयको ज्ञान भए पनि नभए पनि चित्त नबुझाउनेको संख्या केही मात्रामा हुनुको एउटा कारण यही हो । आफूले बुझेको मात्र सही र अरूले बुझेको अत्यन्त गलत भन्ने भ्रम प्रायः हामी सबैमा हुन्छ ।

एउटा उदाहरण लिऊँ, श्रव्यदृश्य पत्रकारिताको । कुनै स्थानमा प्रधानमन्त्रीले वा अन्य कोही उच्च पदस्थ व्यक्तिले भाषण गरे भने त्यसको समाचार प्रायः सबैले बनाउँछन् । त्यो भाषण बीस मिनेट चलेको छ भने टेलिभिजनले बीसै मिनेट त देखाउन सक्तैनन् । इन्टरनेट पत्रिकाले पूरै भाषण राख्नसक्ला तर कसले हेर्छ ? त्यसैले बीस मिनेटको भाषणलाई मिडिया र कार्यक्रम हेरी केही सेकेन्डदेखि केही मिनेटको बनाएर सम्पादन गर्नै पर्छ । सम्पादन गर्दा सम्पादकले आफ्ना दर्शकलाई कुन कुरा सबैभन्दा रुचिकर हुनसक्छ भनेर व्यावसायिकरूपले सोच्दा पनि उसको राजनीतिक झुकाव, सरकारप्रतिको उसको हेराइ, सामाजिक तह, भाषणकर्ताप्रतिको सोच आदिले गर्दा उसले छानेको दृश्यको अंश कुनै न कुनै रूपमा प्रभावित भई हाल्छ । त्यसैले एउटै कार्यक्रमको भिजुअलदेखि समाचारलाई दिइएको महत्त्वसमेत फरक च्यानलमा फरक हुन पुग्छन् । यो बहुलता सौन्दर्य पनि हो । जुन सम्पादकले अधिकतम जनताको मन छुनेगरी सम्पादन गर्न सक्छ उसैको च्यानल लोकप्रिय हुन्छ । भनिराख्नु परेन्, लेखनमा यस्तो सम्पादकको व्यक्तित्वको प्रभाव झनै सशक्त हुन्छ । तर, कुनैपनि पत्रकारले वा सम्पादकले उसको समाचार लेखन, छनोट, सम्पादनमा कुनै प्रकारको आग्रह वा पूर्वाग्रह हुँदैन भनेर घमण्ड गर्न मिल्दैन ।

माथिका अनुच्छेदबाट के प्रमाणित गर्न खोजिएको हो भने पत्रकार यथार्थमै निरपेक्ष हुन सक्तैन । आफ्नो सामाजिक, पारिवारिक, आर्थिक वातावरण तथा पढाइ, बुझाइ तथा व्यक्तित्व आदि अनेक कारणले पत्रकार निरपेक्ष हुन सक्तैन भन्ने त बुझ्न सकियो तर पत्रकार निष्पक्ष त हुनै पर्छ भन्ने धेरैको तर्क हुन सक्छ ।

निष्पक्ष भनेको के हो ? निष्पक्ष भनेको कसैको पनि पक्ष नलिई समाचार संप्रेषण गर्नु हो । धेरै हदमा पत्रकारले आफूलाई निष्पक्ष राख्ने प्रयास पनि गर्छ । तर, एउटा अन्तर्राष्ट्रिय उदाहरण हेरौँ ।

सीएनएनकी विश्वविख्यात पत्रकार क्रिश्चियन अमानपोरले एउटा अन्तर्वार्तामा भनेकी छिन् – सन् ९० को दशकमा उनले बोस्नियामा भएको लडाइँको विषयमा रिपोर्टिङ गर्नुपरेको थियो । उनले सो युद्धमा युगोस्लाभियाले सिधै अन्यायपूर्वक आक्रमण गरेको समाचार संप्रेषण गरेकी थिइन् । उनलाई वस्तुपरक हुन नसकेको र एकतर्फी समाचार प्रस्तुत गरेको आरोप लाग्यो । वस्तुपरक अर्थात् ‘अब्जेक्टिभ’ हुनुलाई अमेरिकी पत्रकारितामा सुनौला सूत्र मानिन्छ । उनलाई गाह्रो भयो । हार्वर्ड बिजनेस रिभ्युमा दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन् – बोस्नियामा जस्तो जब मानवता विरोधी जातीय संहार हुन्छ त्यसबेला जे भएको छ सोही भनिनु पर्छ । सबैतर्फका तर्कलाई स्थान दिइए पनि त्यसले कुनै पनि हालतमा दुइटै पक्ष नैतिकरूपमा बराबर हुन् भन्ने अर्थ लाग्नु हुँदैन । त्यसैले उनले कसले अत्याचार गरिरहेको छ तथा को पीडित हो सो कुरा स्पष्टरूपमा भनिन् । वस्तुगत हुनुपर्ने नाममा आफ्ना विश्वव्यापी दर्शकलाई झुक्याउने काम गरिनन् । उनी भन्छिन् – अहिले पनि उनलाई आफूले त्यसबेला गरेको कामप्रति गर्व लाग्छ ।

अब डा. गोविन्द केसीप्रति सम्पादकले समर्थन जनाएको विषयमा जाऊँ । जुम्लामा अनशन बसेका डाक्टर केसीलाई बल प्रयोग गरेर काठमाडौं ल्याइयो । अझ अस्पतालमा नै प्रहरी प्रवेश गरेर डाक्टर र कर्मचारीमाथि निर्मम लाठी बर्सायो । त्यतिले नपुगेर अस्पतालमा गोलीसमेत चलेर प्रहरीकै एक जवानलाई लाग्न पुग्यो । उक्त प्रहरी जवान अहिले पनि जीवन र मरणको दोसाँधमा मनमोहन कार्डियो थोरासिक अस्पतालमा उपचाररत छन् । यो घटनाको विरोध सबै पत्रपत्रिकाले गरे तर सरकारको कानमा बतास लागेन । सरकारले आफ्नो दम्भ अझ बढाउँदै लग्यो । साउन ५ गते शनिवार नागरिक समाजको ठूलो समूहले डा. केसीको समर्थनमा जुलुस निकाल्यो । पूर्वप्रधान न्यायाधीश सुशीला कार्की आफैँ सडकमा आइन, कृष्ण पहाडी सडकमा आए । तर, सरकारले उल्टै तिनको विरुद्ध आफ्ना समर्थकको लाइन लगाएर सामाजिक सञ्जालमा उत्पात मच्चायो ।

एक निष्ठावान सत्याग्रही डाक्टर जसले नेपालको चिकित्सा शिक्षा सुधार गर्नका लागि ज्यानको बाजी लगाएका छन् तिनको समर्थनमा कलम सबैले चलाए । तर, सरकारले कलमको भाषा बुझ्ने कुनै छनक दिएन । सबैजसो पत्रकारले डा. केसीको माग सम्बोधन होस् भनेर सम्पादकीय लेखे, उनको स्वास्थ्य अवस्थाको बारेमा हरेक दिन प्रथम पृष्ठमा समाचार लेखे तर ढुंगाको दम्भ ओर्लिएन ।  पत्रकार मानव पनि हुन् । कुनैपनि राष्ट्रियता, निष्पक्षता वा व्यावसायिकताभन्दा मानवीयता पत्रकारको पहिलो धर्म हो । त्यसैले सम्पादकले आफँै उपस्थित भएर ऐक्यबद्धता जनाउनुको विकल्प रहेन ।

तर, भनिन्छ नि कुनै वस्तु जति कडा हुन्छ त्यतिनै नुहुनु असहज र भाँचिन सहज हुन्छ । आफूलाई समाजवाद उन्मुख भन्ने सरकार चिकित्सा शिक्षामा जथाभावी निजी क्षेत्रको हालीमुहाली बढाएर जनताको जिन्दगी जोखिममा नपार भन्ने मागमा भने कुनै पुँजीवादीले चलाएको सरकारभन्दा फरक भएन । सरकार धेरै कडा भएको हुनाले भाँचिने डरले पनि सम्पादकको ऐक्यबद्धतामा बढी डराएको देखिन्छ । अन्यथा, विगतको १५ पल्टको अनशनमा अहिलेसम्म सम्पादकको टोली तीनपल्ट यस्तो ऐक्यबद्धता देखाउन पुगिसकेका छन् । डा. केसीको मागलाई समर्थन गर्ने यी अधिकांश सम्पादक व्यक्तिगतरूपमा हरेकपल्ट ऐक्यबद्धता जनाउन अनशनस्थल पुगेकै छन् ।

जनताका अधिकार, जीवन रक्षा, अभिव्यक्ति स्वतन्त्रता आदि विषयमा जब लेखेरमात्र पुग्दैन तब पत्रकार सशरीर कतै उपस्थित हुनुपर्ने अवस्था आयो भने पुग्नुपर्छ भन्ने अहिलेमात्र होइन २०६२/०६३ सालको आन्दोलनमा पनि प्रमाणित भइसकेको हो ।
अन्त्यमा, हरेक सच्चा पत्रकारले बिर्सन नहुने कुरो के हो भने बिनाकुनै राजनीतिक, आर्थिक, पारिवारिक र व्यक्तिगत स्वार्थ, मेरो ब्रह्मले देखेको कुरामा म अन्तिमसम्म अडिग रहने छु । भलै, त्यस क्रममा म नितान्त एक्लो किन बाँकी नरहुँ !

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...

दमकमा प्रदेश स्तरिया विपद व्यवस्थापन कार्यसाला

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ वेलैमा विपद व्यवस्थापनमा सहज होस् भन्ने उदेश्यले प्रदेश नम्बर १ ले ...

व्यवसायीको बिरोध पछि दमक वडा नम्बर ६ फर्निचरलाईन सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णय तत्काललाई रोकियो , निर्णय कार्यान्वयन गरिए आफुहरु मारमा पर्ने व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ दमक वडा नम्बर ६ फर्निचरलाईनको सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णयको स्थानिय ...