सप्तरंगी एफएम /२९ भदौ २०७५
भूटानी शरणार्थी शिविर वेलडाँगीमा संचालन गरिएको एक हप्ते पत्रकारिता तथा फोटोग्राफी सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ l
समापनमा बोल्दै शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय दमक शाखाकी प्रमुख आन्ना पेलोसीले पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा नव प्रवेशी भूटानी शरणार्थी प्रशिक्षार्थी संचारकर्मीहरुलाई आग्रह गर्नुभयो l समाचार सम्प्रेषणले समाज परिवर्तनमा ठूलो भूमिका भएकोले बुझेर आचार संहिता अनुसार मात्र काम गर्न वहाले सुझाव पनि दिनुभयो
त्यस्तै तालिममा सहभागीहरुको टोलीले आज संचारकर्मी डिकेश लामालाई सम्मान समेत गरेका छन् । शरणार्थीहरुको पहुँच संचार माध्यममा पुर्याउने उदेश्यले संचालन गरेको १ हप्ते पत्रकारिता र फोटोग्राफी सम्बन्धीको समापन कार्याक्रममा संचारकर्मी लामालाई सम्मान यूएनएचसीआरकी दमक शाखा प्रमुख पेलासी सहित शरणार्थी अगुवाहरुले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका छन् ।
कार्यक्रममा शरणार्थी समूदायलाई लामो समय देखि सहयोग गर्दै आउने फेन्स क्लव भूटान र शरणार्थीका लागि प्राथमिक स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको आम्दालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
शिविर व्यवस्थापन समितिको आयोजना तथा तेस्रो मुलुकमा रहेका भूटानीहरुको सहयोगमा भएको कार्यक्रम धेरै नै फलदायी भएको तालिममा सहभागी भूटानी शरणार्थी अपाङग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो ।
तालिममा शरणार्थी शिविर र शरणार्थी प्रभावित क्षेत्रका गरी ३२ जनाको सहभागिता रहेको थियो । पछिल्लो समय तेस्रो मुलुकमा रहेर संचालन गरिदैं आएको १ दर्जन हाराहारीका संचार माध्यममा नेपाली भाषी भूटानीहरुले भूटानी शरणार्थीको विटमा पत्रकारिता गर्दै आएका छन् ।