सप्तरंगी एफएम /२७ माघ २०७५/डिकेश लामा
झापा / झापा नेपालकै सवैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ सुपारी जोन झापाको तथ्याङ्क अनुसार ६८ हजार मेट्रिक टन बार्षिकरुपमा सुपारी उत्पादन हुने बताइएको छ । अहिलेको बजार मुल्यमा २ अर्व भन्दा धेरै रकम सुपारीले साट्न सक्छ । तर पछिल्लो समय सुपारीमा आएको विभिन्न रोग र उचित बजार व्यवस्थापन अभाव हुँदा किशानहरु चिन्तित बन्दै गएका छन् ।
नेपालको सवै भन्दा धेरै ८० प्रतिशत सुपारी खेती झापा जिल्लामा मात्र हुने गर्छ । हरियो डलर भनेर खेती तर्फ हौसिएका किशानहरु पछिल्लो समय सुपारीमा देखिएको रोग पत्ता नलाग्दा चिन्तित बन्न थालेका छन् ।
अहिले सुपारीको बोट सुक्ने, डुसी लाग्ने, फल लाग्न नसक्ने जस्ता समस्या देखा पर्न थालेको छ । सुपारी खेती सम्बन्धीको विज्ञ प्राविधिक पाउन नसक्दा किशानले लाखौं रुपयाँ खर्च गरेर तयार गरेको बगान नै पो नासिने हो की भनेर चिन्ता गर्नुहुन्छ सुपारी किसानहरु अग्नि प्रसाद शिवाकोटी र धनमाया खरेल ।
बर्षौ देखि सुपारी खेती गर्दै आएका किसानले कसो गर्दा उत्पादन बढाउन सकिन्छ भन्ने केही पनि थाहा पाउन सकेका छैनन् । वजार व्यवस्थापन, कृषि प्रविधि र प्राविधिकको व्यवस्था गर्न सके झापा सुपारी खेतीको नमूना बन्न सक्ने नेपाल सुपारी खेती विकास संस्था झापाका पूर्व अध्यक्ष टेकेन्द्र शिवाकोटीले बताउनु भयो ।
परम्परागत शैलीमा खेती गर्दै आएका किशानले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कार्यन्वयमा ल्याएको सुपारी जोन कार्याक्रमबाट सहयोग पुग्ने अपेक्षा गरेका छन् । सुपारी खेतीमा आउन थालेको रोग तथा बजार र कृषि प्राविधिकको व्यवस्थापन गर्न किसानहरुले माग गरेका छन् ।