कमल गाउँपालिका यहि माघ २० गते वाल मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा हुँदै

सप्तरङ्गी एफ.एम. झापा/माघ १८/
झापाको कमल गाउँपालिकालाई यहि माघ २० गते वाल मैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि बालमैत्री घोषणाका लागि सवै तयारी पूरा भएको जनाएको छ ।
पालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल ५ स्थित आदिवासी रंगशालामा हुने बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहने छ । कमल गाउँपालिका बालमैत्री घोषणा हुने कोशी प्रदेशकै गाउँँपालिका मध्ये पहिलो गाउँपालीका हो । यो प्रदेशमा यसअघि तिन वटा नगरपालिकाले बालमैत्री घोषणा गरेको छ ।
पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न. २ ले २०७९ बैशाख १४ मा , चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको उल्लेख छ ।
२०७८ साल भित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केहि ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष राईले बताउनुभयो । बालमैत्री घोषणाका लागि प्रदेश सरकारको समेत सहमति पत्र प्राप्त भएपछि अव भने पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको उहाँको भनाई छ ।
वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक मध्ये ४६ वटा मात्रै सुचक पुरा गरे हुने भए पनि कमल गाउँपालीकाले भने सबै ५१ वटै सुचक पूरा गरेको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत राजुकमार शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालमैत्रीका लागि कमलका ७ वटै वडातहमा त्यस सम्बन्धी राजनीतिक दल, विभिन्न संघ संस्था, उद्योगी, ब्यवसायी, निजी तथा सरकारी विद्यालय, वाल क्लवका प्रमुख र प्रतिनिधि, सरोकारवालाहरुसंग छलफल गरिसकिएको छ ।
पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बालमैत्री घोषणासंगै त्यसको कार्यान्वयन चुनौतीपूर्ण हुने औल्याउनु भयो । यसको कार्यान्वयनका लागी सबै पक्षको सहायोग आवस्यक रहेको उहाँले बताउनु भयो । 

प्रतिकृया दिनुहोस