दमकमा लागुपदार्थ न्यूनिकरण अभियानबारे अन्तरक्रिया सम्पन्न

सप्तरङ्गी एफ.एम. झापा/माघ १८/
दमक नगरपालिकाले लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियानलाई निरन्तरता दिएको छ । आज विहिवार दमकमा आयोजित अन्तरक्रियामा अभियानको उपलब्धी र सचेतनाबारे जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले समाजबाट लागुपदार्थ दुव्र्यशनी घटाउन सम्बन्धित परिवारको साथ चाहिने र परिवार आफै सचेत हुनुपर्ने औंल्याएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले नगरको यस्तो अभियान थाहा पाएपछि यसलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले यो अभियान एकवर्षमा मात्रै नसकिने र अभियानभरबाट आएको परिवर्तनलाई समाजमा बाँड्दै अभियान निरन्तर अघि बढाउन सुझाव दिनुभयो । 
कार्यक्रममा नगरपालिकाका प्रमुख रामकुमार थापाले यो अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानले दुव्र्यशनी घटाउन धेरै सहयोग पुगेको र वडावडासम्म सचेतना जगाउन सजिलो भएको बताउनुभयो । उहाँले लागुपदार्थका कारण समाजका सबै तहका यूवा तथा अन्य उमेर समुहलाई समेत असर पारिरहेको र दमक जिल्लाकै सबै भन्दा दोस्रो ठूलो कारोबार हुने नगरमा रहेकोले यसलाई निर्मूल पार्न अभियानका रुपमा सुरु गरिएको जानकारी गराउनुभयो ।
अभियान अवधिमा दमकबाट ३८ जना पक्राउ गरिएको र २० जना सुधार केन्द्रमा राखिएको जानकारी गराइएको छ भने नगरले आगामी फागुन १ बाट विद्यालय र सरकारी संस्था परिषरमा सूर्तीजन्य पदार्थ विक्रिवितरणमा रोक लगाउने बताएको छ । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई, जिल्ला प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालयका प्रतिनिधी लगायत सबै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
नगरले दमकमा लागुऔषध दुव्र्यसनीका विरुद्ध अभियान सञ्चालन गर्न भन्दै दमक नगरपालिकाले मंसिरको अन्तिम साता भव्य कार्यक्रमविच अभियानको उद्घाटन गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको सो अभियान यता नगरले दमकका १० वटै वडामा गएर वडा स्तरको अन्तरक्रिया सम्पन्न गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस