दमकका किसानहरुलाई च्यापकटर र माछाका भूरा वितरण

सप्तरङ्गी एफ.एम. दमक/बैसाक २६/
दमक नगरपालिकाले नगर क्षेत्र भित्रका पशुपालक किसानहरुलाई कुटी काट्ने मेशिन र माछाका भुरा वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा १८ जना कृषकलाई उपलब्ध गराईएका मोटर सहितका १८ थान मेशिनहरु आज एक कार्यक्रमका विच वितरण गरिएको हो । त्यस्तै आजनै २० जना माछा पालक किसानहरुलाई ८२ हजार वटा माछाका भूरा पनि अनुदानमा उपलब्ध गराइएको छ ।
नगर प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यता  र आर्थिक समिति संयोजक तथा वडा नम्वर ५ का अध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कुटी काट्ने मेशिन पाएपछि कृषकहरुले आफूहरुलाई पशुलाई आहारा दिन थप सजिलो हुने बताउँदै खुशी व्यक्त गरे । प्रति गोटा ३१ हजार रुपैयाँका दरले १८ वटा कुटी काट्ने मेशिन अर्थात् च्यापकटर खरीद गरी वितरण गरिएको नगरपालिका पशु पंक्षी विकास शाखाका प्रमुख गणेश कुमार प्रधानले जानकारी दिनुभयो । त्यसमा किसानहरुको पनि अपनत्व होस् भनेर २५ प्रतिशतले पर्न आउने प्रति मेसिन झण्डै साढे सात हजार रुपैयाँ भने किसानहरुको परेको जानकारी गराइएको छ । 
कुटी काट्ने मेशिन वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको र त्यसपछि मापदण्ड पुगेको किसानहरुको गोठमा गई पशुपालनको अवस्था अनुगमन र निरीक्षण गरी १८ किसानलाई छनौट गरी यस्तो प्रकारको मेशिन उपलब्ध गराइएको हो । २०७४ साल यता नगरपालिकाले ५४ जना किसानहरुलाई च्यापकटर उपलब्ध गराइसकेको छ । यो वितरण गर्दा कम्तीमा पनि ५ माउ गाई, ३ माउ भैँसी या २० माउ बाख्रा पाल्ने किसानलाई प्राथमिकता दिई वितरण गरिएको नगरपालिकाले जानकारी गराएको छ । त्यसक्रममा घाँसको अवस्था, पशुपालन फार्म दर्ता, फार्म व्यवस्थापन, जैविक सुरक्षा र मलमूत्रको व्यवस्थापनको पाटोलाई पनि मूल्यांकनको विषय बनाइएको शाखा प्रमुख प्रधानले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले च्यापकटरको उपलब्धताले सम्बन्धित किसानलाई पशुपालनमा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले वास्तविक पशुपालकहरुलाई यस्ता अनुदान र सहयोगका कार्यक्रमहरु ल्याउँदै जाने पनि बताउनु भयो  । कार्यक्रममा नगर उप-प्रमुख रेगिना भट्टराईले पशुपालक किसानहरुको उन्नति प्रगतिका लागि नगरपालिका आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको बताउनु भयो । 
सो कार्यक्रम पछि आजनै २० जना माछापालक किसानहरुलाई कमन कार्प जातको माछाका भूरा अुनदानमा वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस