अल्मलिएको शैक्षिक सत्र, परीक्षा र उपाय

 

विद्यार्थीको सिकाइलाई मापन गर्न परीक्षा आवश्यक छ। किनभने राम्रो ग्रेड र अंक प्राप्त गर्न विद्यार्थीहरु परीक्षा अगाडि तत्परताका साथ पढाइमा लाग्ने गर्दछन्। यसका साथै विद्यार्थीले हासिल गरेको ज्ञानको परीक्षण र मूल्यांकनका लागि पनि परीक्षा आवश्यक छ।

त्यसकारण परीक्षालाई हामी नकार्न पनि सक्दैनौँ न त हटाउने सक्छौँ। तर अन्तिम मूल्यांकन गर्नका लागि तीन/चार घण्टे लिखित परीक्षा नै आवश्यक हुन्छ भन्ने जरुरी नहुन सक्छ। अन्तिम परीक्षाका आधारमा विद्यार्थीको दक्षता परीक्षण गर्नुपर्ने बाध्यतालाई सेमेष्टर प्रणालीले थोरै भएपनि कम गरिदिएको छ।

परीक्षाको कर्मले शिक्षकको धर्म पनि जोगाएको हुनसक्छ। किनभने आफूले सिकाउँदै गरेका विद्यार्थीले राम्रो नतिजा ल्याउन सकुन् भन्ने प्रेरणाले शिक्षकको सिकाइ पद्धतिलाई अझ मजबुत पार्छ र शिक्षकलाई जवाफदेहीताको धर्म पनि सिकाउने गर्दछ।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र प्राध्यापकहरुलाई पनि यही सिद्धान्त लागू भएको देख्न पाइन्छ। तर पनि परीक्षा सुरु हुनुअघिका अन्तिम घडी विद्यार्थीका लागि निकै कष्टकर भएको देख्न पाइन्छ। अघिल्लो दिन मध्यरातसम्म परीक्षाको तयारी गरेर बसेको एउटा विद्यार्थीले वर्षको सुरुआतदेखिका पाठहरू छिचोल्न गरेको प्रयास हेर्दा निकै तनावपूर्ण देखिन्छ र तनाव हुन्छ पनि। सबै विद्यार्थी यसरी नै बसेका हुनसक्छन् भन्ने होइन तर प्रायः विद्यार्थीको कथा यही नै हो।

 

यही किसिमको परम्परागत परीक्षा प्रणालीलाई नै निरन्तरता दिनु वैज्ञानिक नहुन सक्छ। परीक्षाको केही समय अगाडिका अवस्थाले विद्यार्थीको भविष्य र समग्र जीवनलाई नै प्रभाव पार्ने गरेको छ। विद्यार्थीका आपतकालीन अवस्था, शारीरिक कठिनाइ, कठिनाइ र शारीरिक अवस्थाका कारण शिक्षक र विद्यार्थीको वर्षभरीको मेहनत र परिश्रम व्यर्थ सावित हुन्छ। यस्तै कारणले गर्दा कैयौं विद्यार्थीले आफ्नो जीवनसमेत टुंग्याउन पुगेका छन्।

यही तीन/चार घण्टे परीक्षालाई परिमार्जन गरेर लैजाने हो भने, विद्यार्थीको एकमुष्ठ तनावलाई हामी विभाजित गर्न सक्छौँ जुन कम पीडादायी हुनसक्छ र बढी प्रतिफल दिने खालको हुन्छ।

विद्यार्थीले गरेका कक्षा कार्य, गृहकार्य, विभिन्न समयमा लिएका वर्ग परीक्षण (क्लास टेस्ट), परियोजना कार्य, असाइन्मेन्ट, आंकलनहरु, व्यवहारिक परिवर्तन, मौखिक प्रश्न उत्तर, प्रस्तुतीकरणहरु, व्यक्तिगत विकास योजनाहरु, प्रामाणिक चुनौतीहरु, वास्तविक जीवन कार्यहरु, समस्या समाधान गर्ने कौशल, इत्यादिका आधारमा विद्यार्थीको परीक्षाफल प्रकाशित गर्न सकिन्न र?

यदि सकिन्छ भने लकडाउनकै कारण दर्शाएर विद्यार्थीका परीक्षा रोक्नु पर्ने आवश्यकता किन? विश्वविद्यालयहरुका लागि यी विभिन्न आधारहरु प्रशस्त हुनुपर्ने हो। एसइई र कक्षा ११ को परीक्षा नलिइकनै विद्यार्थीहरुलाई स्तरोन्नती गरियो। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने भनियो। त्रैमासिक परीक्षाको केही प्रतिशत र २५ पूर्णाङ्कको व्यवहारिक अंकभन्दा, माथिका आधारहरूमा मूल्यांकन वैज्ञानिक हुन्छ कि भन्ने मेरो तर्क हो।

प्रतिकृया दिनुहोस