दमक नगरपालीकाका स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईको कोरोना अनुभव : हेलचेक्र्याईं नगर्नु होला

विश्वलाई अस्तव्यस्त बनाईरहेको कोरोना भाईरसको महामारी नेपालमा पनि देखिनासाथ सरकारले लकडाउन गर्यो । स्वास्थ्यकर्मि भएको नाताले लकडाउन अवधिमा पनि घरैमा बस्न पाईएन । नागरिकहरुलाई स्वास्थ्य साबधानी अपनाउन अग्रह गर्दै नियमित काममा खटिएको थिएं । लकडाउन खुल्ना साथ नेपालमा कोरोनाको संक्रमण बढ्न थाल्यो । म स्वास्थ्यको कर्मचारी भएकोले म सहित मेरा सबै सहकर्मिहरु कोरोना संक्रमणको जोखिममा रहेका थियौं । जोखिम समुहमा रहेकोले पनि पर्याप्त सावधानी अपनाईएकै थियो कामको चापले गर्दा अरु बिषय सोच्ने फुर्सद समेत थिएन । 
दशैं लागयतका नेपालीहरुको महान पर्वहरु नजिकि रहेका थिए । दमकमा भने संक्रमितको संख्या दिनानुदिन बढिरहेको थियो । लकडाउन खुल्ना साथ मानिशहरुले कोरोनानै पुर्ण रुपमा नियन्त्रणमा आएको झैं गरेर चहल पहल बढाएकोले गर्दा संक्रमणको दर बढिरहेको थियो । जतिनै जोखिम र संक्रमण दर बढे पनि मेरो पेशाका कारण मैले समाजबाट टाढा रहेर बस्ने अवस्था छैन । नियमित डिउटीमा खटिने क्रममा सामान्य रुघा खोकी लाग्नुका साथै ज्वरो समेत आयो । लक्षण देखिना साथ म कार्यालय नआएर घरमै क्वारेन्टाईनमा बस्न थालें । मलाई संक्रमण देखिए पनि जित्न सक्छुहोला भन्ने आत्मबल थियो तर झण्डै बर्षदिन मात्रै पुगेको नातीलाई पो समस्या हुन्छकी भन्ने त्रास थियो । तर यस अघि पनि पटक पटक कोरोना परिक्षण गराएकोले कोरोनाको आशंका थारै मात्रै थियो । घरैमा बसिरहेकाबेला छाति अत्यन्तै दुख्न थाल्यो । अन्य कुनै समस्या होला घरमा भन्दा डाउने पो हुन् की भनेर मेरो अवस्थाको बारेमा परिवारलाई जानकारी नगराई छातीको एक्सरे गरें । एक्सरेको रिपोर्टमा निमोनियाँ भएको देखियो । अन्य रुघा खोकी पनि लागेकोले गत कात्तिक ५ गते कोरोना परिक्षणको लागी स्वाब पठाएको ७ गते कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आयो । मैले जतिनै साबधानी अपनाए पनि धेरै मानिशहरु संग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने भएकोले कहाँबाट संक्रमण भयो भन्ने सोच्नै सकिएन ।
मलाई संक्रमण भएको र श्रीमती मुना जीलाई समेत सामान्य लक्षण देखिएपछि उहाँको पनि परिक्षण गराउँदा पोजेटिभ रिपोर्ट आयो । छोरा बुहारी र नातीलाई अलग्गै राखेर हामि श्रीमान श्रीमती अलग्गै कोठामा बस्न थाल्यौं । मलाई निमोनियाँनै भैसकेकोले गर्दा निक्कै समस्या भयो । सास फेर्न गाह्रो हुने, खानाको स्वाद नहुने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिए । त्यसका साथै जिउमा रातो दाग जस्तो जता ततै देखिन थाल्यो र डाईरिया पनि लाग्न थाल्यो । घरमै अक्सिजन राखेकोले त्यहिँबाट अक्सिजन लिने र लक्षणको उपचार गर्दै गएँ । स्वास्थ्यकर्मि पनि र श्रीमति पनि बिरामी भएर साथैमा रहेकोले बाहिर डर देखाउन भएन तर मनमा भने धेरै डर पनि लाग्यो । छातिमा धेरै समस्या भएको र जिउमा राता राता दाग समेत देखिएकोले निक्कै डरले सतायो । दशैंको समय आफन्त साथिभाई कसै संग भेट गर्न पाईएन । आफन्त आउँदा समेत आफु घर माथि छतबाटै तल बाटामा भएका आफन्त संग गफ गरियो । अहिले पनि निरन्तर चिकित्सकहरुको परामर्शमा रहेर औषधि गर्दै घरैमा बसिरहेको छु । 
हिँजोबाट भने थोरै लक्षणहरु हराउँदै गएका छन् । तर एक हप्ता सम्मको कडा ज्वरो र छातिको निमोनियाँले गर्दा एकदमै धेरै कमजोरी महसुस भएको छ । यस अघि धेरै बिरामीहरुलाई टेलिफोनबाट र भेटेरै परामर्श र हौसला दिँदै आएको म आफैंलाई सान्त्वना दिन नसक्ने अवस्थामा पुगें । काम नै स्वास्थ्य क्षेत्रमा भएकोले कोरोना संक्रमित भईएला भन्ने मानसिक तयारीमा त थिएँ तर यति साह्रो पार्ला भन्ने सोचेको भने थिएन । समुदायमा जाँदा पनि मास्क अनिवार्य हुन्थ्यो । घर फर्किएर साबुन पानीले हात धुन्थेँ । सतर्कताका सबै उपाय अपनाउँदा अपनाउँदै पनि मलाई झुक्याएर कोरोनाभाइरसले आक्रमण गर्यो । नेपाल अनि विश्वमा कोरोना संक्रमितहरुको संख्याको सूचीमा मेरो पनि संख्या जोडियो । तर अहिले भने केहि सहज अनुभुति गरेको छु र यति लेख्न सक्ने अवस्थामा आएँ । 
कतिपयले कोरोना भाईर केहि हैन सामान्य हो तातोपानीले उडाईन्छ भन्दै गफ गरेको पनि सुनेको छु । कतिपयले भने कोरोनाको नाउँमा नागरिकलाई मुर्ख बनाईंदैछ सम्म भनेका छन् । तर तपाईं कोरोना भाइरसलाई जोक नठान्नु होला । यो हौवा होइन, सत्य हो । कति साबधानि अपनाउँदा अपनाउँदै पनि संक्रमण हुन सक्छ । अझ अहिले त कोरोनाको संक्रमण समुदायमै फैलिसकेको छ । आफू अगाडि भएका हरेक मान्छेलाई कोरोना भाइरस संक्रमित भएको ठान्नुस् । त्यही अनुसार मास्क लगाउनुस् र सामाजिक दूरी कायम गर्नुस् । हेलचेक्र्याईं गर्दा ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।

 

प्रतिकृया दिनुहोस